काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले लामो समयदेखि घाटामा रहेका तथा बन्द अवस्थामा पुगेका सरकारी उद्योग तथा संस्थानहरू सुधारको बाटोमा फर्किन थालेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले नियत सफा र टोलीको काम इमानदार भए चुनौतीपूर्ण परिस्थितिमा पनि सुधार सम्भव हुने बताएका हुन् ।

नयाँ सरकार गठन भएयता राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनर्जीवित गर्ने उद्देश्यले अघि बढाइएका पहलकदमीबाट केही महत्वपूर्ण उपलब्धि हासिल भएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सरकारी संस्थानमा भइरहेको सुधारलाई ‘रुग्ण उद्योगमा नयाँ जीवन भर्ने अभियान’का रूपमा व्याख्या गरेका छन्।

वर्षौंदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको प्रधानमन्त्री शाहले बताए ।