काठमाडौं, एजेन्सी - नाइजेरियामा विमान दुर्घटना हुँदा सेना प्रमुखसहित १० सैन्य अधिकृतको ज्यान गएको छ ।

खराब मौसममा अवतरण गर्न खोज्दा सेना प्रमुख इब्राहिम अताहिरु सवार विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । दुर्घटनामा चालक दलका सदस्यसहित १० अधिकृतको पनि मृत्यु भएको समाचारमा उल्लेख छ ।

कडुना अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा विमान दुर्घटना भएको नाइजेरियाको हवाइ सेनाले जनाएको छ ।

राष्ट्रपति मोहम्मदु बुहारीले दुर्घटनाका कारण आफू ‘गहिरो दु:खमा परेको’ बताएका छन्। बुहारीले ट्वीटमार्फत् ‘हाम्रो फौजले देशमा जारी सुरक्षा चुनौतीलाई आत्मविश्वाससाथ अन्त्य गर्न खोजिरहेको बेला ठूलो आघात पुगेको’ बताएका छन्।

जनरल अताहिरुलाई जनवरीमा सेना प्रमुखमा नियुक्त गरिएको थियो । ५४ वर्षीय अताहिरूले जनवरीमा उपल्लो सैन्य तहलाई पुनर्संरचना गर्ने क्रममा सेना प्रमुखको जिम्मेवारी पाएका थिए । जिहादी समूह बोको हरामविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन भन्दै सेनाको उपल्लो तहलाई पुनर्संरचना गरिएको थियो ।

यसअघि फेब्रुअरीमा नाइजेरियाली सेनाको एक विमान दुर्घटना विमानमा सवार सात जनाको ज्यान गएको थियो।