सप्तरी - लकडाउन उल्लंघन गरेको भन्दै स्थानीय युवालाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी जवान मनोज चौधरी निलम्बनमा परेका छन् ।

कुटिपिटमा संलग्नमध्ये चौधरीलाई निलम्बन र केशव थापालाई विभागीय कारबाही गरिएको छ ।  सशस्त्रको नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका चौधरी र थापाले सीमावर्ती भारतीय बजारबाट औषधि किनेर आउँदै गरेका बलान बिहुल गाउपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई नियन्त्रणमा लिएर शनिबार निर्घात कुटपिट गरेका थिए । साह र यादव घाइते छन् ।

यद्यपि सशस्त्र प्रहरीले ती दुवै युवा पनि गैरकानूनी ओसार–पसारमा संलग्न रहेको दाबी गरेको छ । उनीहरुले भारतबाट सामान ल्याउने गरेको सशस्त्रले जनाएको छ । पटकपटक सम्झाउँदा पनि ती दुईले त्यस्तो काम नगरेको बताइएको छ ।