काठमाडौं - पार्टीको निर्णय नमानेपछि समाजवादीकी सांसद सरिता गिरीलाई उक्त पार्टीको पदबाट निलम्वन गरिने भएको छ । समाजवादी पार्टीले सांसद गिरीलाई पार्टी र सांसद दुवै पदबाट हटाइने भएको हो ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर तयार पारिएको नेपालको नयाँ नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उत्रीकी सांसद गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एक नेताले जानकारी दिए ।

सोे नेपालको भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई भारतले आफ्नो कब्जामा लिएर सडक निमार्णसमेत गरिसकेको छ । त्यसैको कारण नेपालले आफ्नो भूमि फिर्ता लिन उक्त क्षेत्रलाई समेटेर नयाँ नक्सा तयार गरेको हो । तर देशका जनता तथा सबै दलका नेता एकरुपता हुँदा ती सांसद गिरी मात्रै त्यसको पक्षमा नभएर भारतको पक्षमा उत्रिएकी हुन् ।

उनले पार्टीको निर्णय विपरीत संसदमा विधेयक प्रस्तुत गरेकी थिइन । तर, पार्टीले त्यो फिर्ता लिन र संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको उक्त पार्टीले जनाएको छ । त्यसपछि पार्टीले गिरीलाई पार्टीको निर्णय मान्न सम्झाए पनि उनी नमानेको स्रोतको भनाइ छ ।

संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान रहेको छ । पार्टी नेताहरु उपेन्द्र यादव विराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकोले दुवै नेता काठमाडौं आएपछि पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वन गरिने जानकरी संसदलाई गराउने भएको सांसद गिरी आवद्ध पार्टीको उच्च स्रोतले बताएको छ ।