काठमाडौं,एजेन्सी - बंगलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बंगलादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैंक र प्रहरीको आधिकारिक वेबसाइटहरू ‘द रेजिष्टेन्स’ नामक समूहद्वारा ह्याक गरिएको छ ।

तिनवटै वेबसाइटहरूमा, ‘अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ, अब यो विरोध मात्र नभई एक युद्ध हो’ भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।

सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।

समूहले तत्काल ह्याकर, ‘ओएसआइएनटीु अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् । ‘न्यायका लागि लडाइँ सुरु भइसकेको छ, तयार रहनुहोस्’, ह्याकरहरुले चेतावनी दिएका छन् ।

उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ ।

बंगलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए ।