काठमाडौैं - राष्ट्रिय मानव अधिकार आयोगले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँग रूपा सुनार प्रकरणमा स्पष्टीकरण सोधेको छ । आयोगले मंगलबार कार्यालयमै बोलाएर स्पष्टीकरण लिएको आयोगका महासचिव तथा प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए । 

सामाजिक विभेदसँग सम्बन्धित घटना भएकोले त्यसमा न्यायिक र कानुनी प्रक्रिया सुरु भइसकेपछि मन्त्रीले झण्डा लिएर छुटाउन पुग्नु  कानुनको शासन र मानव अधिकारविपरीत भएको पोखरेलको भनाइ छ। आयोगले सो प्रकरणको निगरानी गरिरहेको प्रवक्ता पोखरेलले बताएका छन् । आयोगले मन्त्रीलाई त्यस्तो गल्ती नदोहोर्‍याउन चेतावनीसमेत दिएको छ । 

शिक्षामन्त्री श्रेष्ठले पनि कारगेट र झण्डा लिएर जानु गलत भएको बताए। प्रहरीबाट प्रधानलाई छुटाउन असार ९ गते शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ झण्डासहितको गाडी लिएर अनामनगरस्थित महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए।

सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नू भन्दै प्रधानलाई थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको थियो।