काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता असम्भव भएको बताएका छन् । दुई नेताबीचको रिस नहराएसम्म एकताका लागि दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने उनको भनाई छ । 

आइतबार राष्ट्रियसभाको बैठकपछि संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने,‘ माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन ।’ 

यस्तै, उनले पार्टी एकता गराउनकै निम्ति भनेर आफू ओली पक्षमा लागेको पनि बताएका छन् । ‘अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु ।’ उनले भनेका छन्, ‘ मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु ।’