एमाले कार्यदलको बैठक आज पनि बस्दै, विवाद टुंगो लगाउने दाबी
काठमाडौं - नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । सिंहदरबारस्थित अर्थमन्त्रालयमा विहीबार बिहान ११ बजे कार्यदलको बैठक बस्ने तय भएको छ ।
विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख भैरहेकोले आजको बैठकले विवादको टुंगो लगाउने नेताहरुकाे दाबी छ । बुधबारको बैठकपछि एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र बिहीबारसम्म टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए ।
लगातार ३ दिनसम्म कार्यदलको बैठक चलेपछि बुधबार साँझ नक्सालस्थित होटेल मेरियटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । वार्तामा सहभागी कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि ओली र नेपालबीच अलग–अलग वार्ता भएको थियो । वार्तामा सहमति हुन नसकेपनि सकारात्मक भएको बताइएको थियो ।
कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।
फेसबुक पेज Like गर्नुहोस