महरालाई अझै ७ दिन थुनामा राख्न अनुमती
काठमाडौं - अदालतले पूर्वसभामुख कृष्णबहादुर महरालाई ७ दिन थुनामा राख्न अनुमती दिएको छ । संसद सचिवालयमा कार्यरत् एक महिलामाथि बलात्कार गरेको आरोपमा थुनामा परेका महरालाई अदालतले अनुसन्धानको लागि म्याद थप गरेको हो ।
आज तेस्रो पटक म्याद थपका लागि अदालतमा पुर्याइएका महरालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । दिउँसो साढे ३ मा अदालत पुर्याइएका महराका तर्फबाट बहस गरेका वकीलहरूले जमानतमा रिहा गर्नुपर्ने माग गरेका थिए।
जिल्ला सरकारी वकीलले भने महराको डीएनएन परीक्षणको रिपोर्ट, उनको कल डिटेललगायतको अनुसन्धान अझै बाँकी रहेकाले सात दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न म्याद कायम हुनुपर्ने बताएका थिए ।
जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंमा करीब दुई घण्टा राखेपछि महरालाई काठमाडौं जिल्ला अदालत पुर्याइएको थियो । सात दिनको म्याद थपसँगै महरा अब १३ कात्तिकसम्म प्रहरी हिरासतमा नै रहनेछन् ।
प्रहरीले १४ कात्तिकमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिसक्नु पर्नेछ। त्यसपछि सरकारी वकील कार्यालयले अदालतमा मुद्दाको अभियोग पत्र दायर गर्नुपर्ने हुन्छ।
फेसबुक पेज Like गर्नुहोस