काठमाडौं - समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको स्रोतले जानकारी दिएको छ । पार्टीको ह्विप नमानेकी सांसद गिरीलाई कारबाही गर्न पार्टीको कार्यदलले सिफारिस गरेको थियो ।

भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा निसान छापमा राख्नका लागि गरिएको संविधान संशोधनमा सांसद गिरीले पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन् । सांसद गिरीले नक्सा संशोधन गर्न संसद्‍मा दर्ता गराएको विधेयकमा संसोधन प्रस्ताव दर्ता गराउँदै तत्काल ती क्षेत्र नेपालको नक्सामा समावेश गर्न नहुने बताएकी थिइन् ।

पार्टीेको बैठकले गिरीलाई सो प्रस्ताव फिर्ता लिन आग्रह गरेको थियो । तर गिरीले दलको ह्वीप उल्लंघन गरी प्रस्ताव फिर्ता नलिएपछि पार्टीले कारबाही गर्ने निर्णय गरेको थियो । जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो तर, सांसद गिरी भने संसदमा बोल्न नपाएपछि बैठक चलिरहँदा बाहिरिएकी थिइन् ।

सो विषयमा छानबिन गर्न समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए । यादव नेतृत्वको कार्यदलले गिरीलाई कारबाहीको सिफारिसका लागि पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गरेको थियो ।