एमालेमा लागेका पूर्व-माओवादी नेताहरू आज निर्वाचन आयोग जाँदै
काठमाडौं - नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरू आज निर्वाचन आयोगमा जाने भएका छन् ।
माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गर्दै आयोगमा निवेदन दिएका पूर्व माओवादी नेताहरु शुक्रबार बिहान ११ बजे आयोग जान लागेको नेता मणि थापाले जानकारी दिए । टोपबहादुर रायमाझीको नेतृत्वमा नेताहरु थापासहित प्रभु साह, गौरीशंकर चौधरीलगायत आयोग जाने तयारी छ ।
संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर पेश गरेको निवेदनमाथि आयोगले के गर्दै छ भनेर बुझ्न निर्वाचन आयोग जान लागेका नेता थापाको भनाई छ ।
माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायत नेताहरु बुधबार अधिवक्ता सरोज बुढाथाकीलाई लिएर आयोगमा दल दर्ता खारेजीको निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमाले र माओवादी केन्द्र व्यूँतिएका थिए । त्यसपछि पार्टी छाडेर एमोलतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, रायमाझी, साह र चौधरी, राष्ट्रियसभा सदस्य बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादीले कारबाही गरेको थियो । कारबाहीमा परेपछि उनीहरुको सांसद पद गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस