एमाले कार्यदलको बैठकअघि विष्णु पौडेल र भीम रावलबीच सिंहदरबारमा वार्ता
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
विवाद समाधान गर्न गठित कार्यदलको बैठक बस्नुअघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा ओली पक्षका कार्यदल सदस्य विष्णु पौडेल र माधव पक्षका कार्यदल संयोजक भीम रावलबीच वार्ता भएको हो । छलफलमा ओली पक्षीय नेता शंकर पोखरेल समेत सहभागी भएका थिए । कार्यदलको छलफल सकारात्मक र निष्कर्षउन्मुख भैरहेको बताइएको बेला शिर्ष नेतासहित दोस्रा तहका नेताहरुको भेटघाट बाक्लिएको हो ।
बुधबार साँझ नक्सालस्थित होटेल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच पनि भेटवार्ता भएको थियो । वार्तामा सहभागी कार्यदलका केही सदस्यले हालसम्मको सहमतिको प्रयासबारे ब्रिफिङ गरेका थिए । त्यसपछि ओली र नेपालबीच अलग–अलग वार्ता भएको थियो । वार्तामा सहमति हुन नसकेपनि सकारात्मक भएको बताइएको थियो ।
आजको कार्यदलको बैठकले विवादको टुंगो लगाउने नेताहरुकाे दाबी छ । बुधबारको बैठकपछि एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र बिहीबारसम्म टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए ।
फेसबुक पेज Like गर्नुहोस