काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसले नेपालमा पनि भयावह स्थिति आउन सक्ने बताएका छन् । सबैलाई सजग रहन उनले आग्रह गरेका छन् ।

बिहिबार एक भिडियो सन्देश जारी गर्दै ओलीले भनेका छन्, ‘सरकारले सुरुदेखि नै चालेका प्रभावकारी कदमहरुका कारण अहिलेसम्म नेपालमा स्थिति भयावह भइसकेको त छैन । तर, भयावह हुनसक्ने लक्षणहरु छन् ।

आफ्नो सतर्कता, आफ्नो तयारी र रोकथाममा हामी सबैको सम्झदारीपूर्ण ऐक्यबद्धता भएन भने यस महामारीले भयावह रुप लिने उनले बताए ।

प्रधानमन्त्री ओलीले कोरोनाभाइरसको संक्रमणबाट दिवंगत भएकाहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु, स्वयम्सेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबैप्रति ऐक्यबद्धता जनाउन घर तथा संस्थाहरुमा द्वीप प्रज्वलनका लागि अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले कोरोनाभाइरसबाट जीवन गुमाएका तथा रोल्पा बम विस्फोटमा ज्यान गुमाएका प्रति पनि श्रद्धाञ्जली अर्पण गरेका छन् । त्यस्तै, उनले संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती र कोरोनाविरुद्ध लडिरहेका चिकित्सकको लागि बिहीबार साँझ ७ बजे दीप प्रज्वलन गर्न देशवासीसमक्ष अपिल गरेका हुन् ।