पूर्व-माओवादी नेताहरू पुगे निर्वाचन आयोग, दल दर्ता खारेजी निवदेनकाे प्रगति बुझ्ने
काठमाडौं - नेकपा एमालेमा लागेका पूर्व-माओवादी नेताहरू निर्वाचन आयोगमा पुगेका छन् ।
माओवादी केन्द्रको दल दर्ता खारेजीको माग गरेकाे निवेदनमा भइरहेको प्रगति बुझ्न पूर्व-माओवादी नेता टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत शुक्रबार आयोगमा पुगेका हुन् । लेखराज भट्ट भने आयोगमा गएका छैनन् । संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेज हुनुपर्ने उनीहरुको माग छ ।
माओवादी परित्याग गरेर एमालेमा गएको रामबहादुर थापा बादल समूहका लीलाबहादुर थापा, दिनेश पन्थी, रामचन्द्र मण्डल, गिरिधरी न्यौपानेलगायत नेताहरुले बुधबार अधिवक्ता सरोज बुढाथाकीमार्फत आयोगमा दल दर्ता खारेजीको निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले २३ फागुनमा साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमाले र माओवादी केन्द्र व्यूँतिएका थिए । त्यसपछि पार्टी छाडेर एमोलतिर लागेका कारण तत्कालील प्रतिनिधिसभा सदस्य लेखराज भट्ट, रायमाझी, साह र चौधरी, राष्ट्रियसभा सदस्य बादल, प्रदेशसभा सदस्य मण्डल लगायतलाई माओवादीले कारबाही गरेको थियो । कारबाहीमा परेपछि उनीहरुको सांसद पद गएको थियो ।
फेसबुक पेज Like गर्नुहोस