काठमाडौं - शिक्षामन्त्री सुमना श्रेष्ठले आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने कदम चालेपछि सरकार परिर्वतन खोजिएको दाबी गरेकी छन् ।

बिहीबार राति सामाजिक सञ्जाल एक्समार्फत श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले यस्तो दाबी गरेकी हुन् ।

आफूले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने उद्देश्यले फाइल अगाडि बढाउँदा सरकार नै परिवर्तन गर्न खोजिएको उनको आरोप छ ।

‘आदरणीय केपी बा ! शिक्षकले राम्रो नपढाँउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ । अनि राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकार नै परिवर्तन गर्न खोज्ने । तपाईंको शिक्षकले तपाईंकै पार्टीको सिद्धान्त पढाएमात्र हो अब,’ उनले लेखकी छन् ।

बिहीबार रूपन्देहीमा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्ने क्रममा ओलीले गुणस्तरीय शिक्षकको अभाव रहेको बताएका थिए ।