काठमाडौं - भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राति पौने १२ बजे निधन भएको छ। स्वराजको हृदयघातका कारण निधन भएको थियो ।  स्वराजको निधनप्रति प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताले सामाजिक सञ्जालमार्फत् दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ट्वीटमार्फत् वरिष्ठ राजनीतिक नेता स्वराजको निधनले दुःखित भएको भन्दै हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन्। उनले यस दुःखद घटनाबाट परिवार र भारतीय जनताप्रति परेको पीडाप्रति समवेदना प्रकट गरेका छन्।

यस्तै  राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वराजलाई ‘एक्स्ट्रा अर्डिनरी ट्यालेन्ट’ भन्दै ट्वीट गरेका छन्। ‘नेपालले एक राम्रो साथी गुमाएको छ,’ उनले ट्वीटमा भनेका छन्, ‘अप्ठ्यारो अवस्थामा काम गरेका दिनहरू हृदयदेखि सम्झन चाहन्छु।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको सच्चा मित्रका रूपमा स्वराजलाई सम्झिएका छन्। उनले स्वराज वरिष्ठ राजनीतिक नेताको भएको भन्दै परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

त्यस्तै, समाजवादी पार्टीका अध्यक्ष  बाबुराम भट्टराईले स्वराजलाई भारतको एक प्रतिभाशाली नेता भएको उल्लेख गरेका छन्। उनले आफ्नो ट्वीटमार्फत् युवा अवस्थामै उनीसँग परिचित हुने मौका पाएको भन्दै आफूले एक साथी गुमाएको उल्लेख गरेका छन्।

स्वराजको सन् २०१६ मा मिर्गौला प्रत्यारोपण गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराज भारतीय राजनीति र समग्र देशको एक प्रेरक व्यक्तित्व भएको बताउँदै स्वराजले सम्पूर्ण जीवन नै राजनीति र सार्वजनिक सेवामा समर्पित गरेको भन्दै प्रसंशा गरेका छन् ।