जाजरकोट - जाजरकोटको नलगाड नगरपालिकामा गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।
नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुलाहा खोलामा आएको बाढीले खोला बजारका अस्थायी टहरा तथा स्थानीयका पसल बगाएको हो । खोला बढेको आवाज सुनेपछि स्थानीय भागेर ज्यान जोगाउन सफल भएका थिए ।
नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरका अनुसार पूर्वसतर्कताका कारण मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको छ। उनका अनुसार बैरीताल बजारमा मात्रै ११ स्थानीयका घर तथा पसल बाढीले बगाएको छ।
यस्तै, नलगाड–२ का वडाध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार वर्षासँगै आएको पहिरोले खर्कमा रहेका हजारी खत्रीका एक हल गोरु पुरिएका छन्।
नलगाड–३ का वडाध्यक्ष पूर्णबहादुर विष्टले खहरे बाढीका कारण कैनास्थित स्वास्थ्य चौकीमा समेत क्षति पुगेको जानकारी दिए। खहरे खोलाबाट आएको भलबाढी स्वास्थ्य संस्थाभित्र पसेपछि संरचनामा क्षति पुगेको उनले बताए।
बाढीले सडकका विभिन्न भाग कटान गरेपछि भेरी करिडोरअन्तर्गत यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। खहरे खोलामा आएको बाढीले सडक नै च्यातिएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था बनेको हो।
भेरी करिडोरले जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले नलगाड नगरपालिकामा बाढी तथा पहिरोबाट ११ घर तथा पसल बगेको प्रारम्भिक जानकारी आएको बताए।

.gif)


