रसुवा - बाढीले पुल बगाएपछि अवरुद्ध बनेको रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र फलामे तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ।
फलाखु खोलामाथिको पक्की पुल र स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथिको पक्की पुल बाढीले बगाएपछि सडकखण्डमा आवागमन ठप्प भएको थियो। तत्कालको समस्या समाधान गर्न सुरक्षा निकाय र स्थानीयको समन्वयमा वैकल्पिक संरचना निर्माण गरिएको हो।
सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीका अनुसार पहिलो चरणमा पैदल यात्रुका लागि बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीमा फलामे तुइन जडान गरिएको छ।
स्याफ्रुबेँसीमा तुइन निर्माण सम्पन्न भए पनि दायाँबायाँको पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको छ। पदमार्गको काम पूरा भएपछि एक–दुई दिनभित्र तुइन पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।
बेत्रावतीमा फड्के निर्माण भएपछि नुवाकोटतर्फबाट गेर्खु, छापटार, केराघारी हुँदै बेत्रावतीसम्मको पैदल आवागमन सहज भएको प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामेले जानकारी दिए।
फड्के निर्माणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले सहयोग गरेका थिए। यस्तै, सुरक्षा निकायको समन्वयमा स्याफ्रुबेँसीमा फलामे तुइन तयार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीले बताए।
वैकल्पिक संरचना निर्माण भएपछि उत्तरी रसुवाका गतलाङ, गोल्जुङ, चिलिमे, थुमन, स्यो र ग्रेलगायत क्षेत्रका बासिन्दालाई स्याफ्रुबेँसी हुँदै आवतजावत गर्न सहज भएको छ। बेत्रावतीको फड्केबाट लहरेपौवा, जीवजीवे, धैबुङ, भोर्ले र राम्चेलगायत क्षेत्रका स्थानीयलाई पनि राहत पुगेको छ।
स्थानीयवासीले भने फड्के र तुइनले तत्कालका लागि आवागमन सहज बनाए पनि दीर्घकालीन समाधानका लागि बेलिब्रिज निर्माण गर्न माग गरेका छन्।

.gif)



