माधव नेपालले गल्ती गर्नुभएको हो : वामदेव गौतम
काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ नेता माधवकुमार नेपालले गल्ती गरेको बताएका छन् । विपक्षी दल नोपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेर नेता नेपालले गल्ती गरेको गौतमले बताएका हुन् ।
‘माधव नेपालको ठाउँमा म भएको भए पार्टीमा राजीनामा गरेर मात्र शेरबहादुरको लागि सही गर्थें । उहाँले गल्ती गर्नुभएको हो, तर माधवलाई जसरी पनि पार्टीमा ल्याउँनुपर्छ । त्यसका लागि पार्टी अध्यक्षले संयमता अपनाउनुपर्छ । पार्टी एकता अपरिहार्य आवश्यकता हो ।’ गौतमले बालुवाटार बैठकमा भने ।
गौतमले एमाले आधा-आधा विभाजित रहेकोले बताउँदै नमिलाउने हो भने सबै सिद्धिने बताए ।
‘हिजो निर्वाचन हुँदा माधव कमरेडका जम्मा ९ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ। एमाले आधा(आधा विभाजित छ।’ गौतमले भने, ‘वार्ता कमिटी बनाएपछि बीचैमा छाड्नुहुन्न। सार्थक निष्कर्षमा पुर्याउनुपर्छ। अन्यथा हामी सबै समाप्त हुन्छौं,’
गौतमले मुख्य नेतालाई अपमान गरेर एकता नहुने बताए। ‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ। मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन। हतार गर्नुहुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,’ गौतमले भने।
फेसबुक पेज Like गर्नुहोस