काठमाडौं - प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज आइतबार पनि छलफल हुँदैछ ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि त्यसलाई समाधानको बाटोतिर लैजान प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षको छलफल हुन लागेको हो। सोमबार स्थायी कमिटी बैठक बस्न लागेकाले दुई अध्यक्षबीच सहमतिको अधिकतम प्रयास भैरहेको छ ।

स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको छ । ओलीले दुवै पद नत्याग्ने अडान लिँदै आएका छन् भने एउटा पद भए पनि छाड्नु पर्ने ओली इतर समूहको दबाब छ ।

अध्यक्ष प्रचण्डले जेठ २ गतेको सहमति छोडर गल्ती गरेको बताएका थिए भने प्रधानमन्त्री ओलीले जेठ २ गतेको सहमति गरेर गल्ती गरेको बताएका थिए।

शनिबार साँझ प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग छलफल गरेका थिए। उनले मन्त्रीहरूलाई कसको पक्षमा लाग्ने भनेर निर्णय गर्नसमेत भनेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग र आफूलाई पदबाट हटाउने तयारी भैरहेको आरोपसमेत प्रधानमन्त्रीले लगाएका थिए।