काठमाडौं - नेपाल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंक अर्थात नेपाल क्रेडिट एण्ड कमर्स बैंक को संस्थापक सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ ।

इन्स्योरेन्सले बैंकको ५ लाख कित्ता संस्थापक सेयर लिलाम बिक्री गर्न लागेको हो। सेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनेपर्नेछ भने अधिकतम शेयर संख्यामा कुनै हद नलाग्ने जनाइएको छ।

सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ। त्यसैले, बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ। इच्छुक खरिदकर्ताले कात्तिक ६ गतेभित्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आवेदन दिनु पर्नेछ।

सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले असोज २ गतेदेखि कात्तिक ६ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र कात्तिक २० गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटलमा बोलपत्रवाता वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिनेछ।