काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको ले गणतन्त्र धरापमा परेको बताएका छन् । एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले जिन्दगीभरको मेहनत खेर जान लागेकोमा दुःख व्यक्त गरेका हुन् ।

नेता भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुपुत्र तथा राष्ट्रपति विद्यादेवी भण्डारीलाई कुपुत्री संज्ञा दिएको भावको ट्वीट गरेका हुन् । उनीहरुकै कारण गणतन्त्र धरापमा परेको भन्दै खरानी लिन दौडने व्यक्तिहरु यिनै नेताका कार्यकर्ता भएको संकेत गरेका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिः जिन्दगीभरको मेहनतले’ संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र र कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए !’  

आगो लाग्दै गरेको घरमा सन्तानहरु आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको तर्क गरेका छन् । त्यस्तै, छिमेकी रमिते बनेको कारण उनले लौन आगो निभाउँ भन्दै आफ्नो विचार राखेका छन् ।