काठमाडौं - चीन सरकारले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई दिइने भएको छ । 

जेठ २५ गतेबाट देशभरका ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई उक्त भेरोसेल खोप दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भेरोसेल खोप लगाउन जाँदा नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागजात वा वडा कार्यालयले दिएको सिफारिस अनिवार्य गरिएको छ ।

गत २६ मेमा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच टेलिफोन वार्ता भएको थियो । उक्त वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । मंगलबार हिमालय एयरलाइन्स र नेपाल वायुसेवा निगमको जहाजमार्फत नौ लाख डोज खोप नेपाल ल्याइएको छ ।

बाँकी एक लाख डोज खोप लिन बुधबार हिमालय एयरलाइन्सको जहाज चिनको कुनमिङ जानेछ ।