ओलीलाई माधव नेपालको जवाफ : ‘हस्ताक्षर फिर्ता हुँदैन’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् ।
शनिबार (आज) दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श बिना राखिएको बैठक रोक्न सुझाव दिएका हुन् । साथै नेता नेपालले एकता टुंग्याउन कार्यदल सक्रिय बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।
उनले टेलिफोन सम्वादमा नेता नेपालले अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । शुक्रबारको बैठकबाट अध्यक्ष ओलीले सोमबार साँझसम्म हस्ताक्षर फिर्ता नभए एकता नहुने घोषणा गरेका थिए । तर, नेता नेपालले भने हस्ताक्षर फिर्ताको प्रस्ताव एकोहोरो भएको प्रतिक्रिया दिएका छन् ।
साथै उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिन नसकिने अडान राखेका छन् । प्रतिनिधिसभा विघटन खारेज र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १४६ निवर्तमान सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए, जसमा माधव नेपाल समूहका २३ जना पनि छन् ।
सर्वोच्चमा यो मुद्दाको बहस अन्तिमतिर पुगेको छ । तर, सर्वोच्चको फैसला आउनुअघि अध्यक्ष ओलीले बैठक राखेर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।
सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता नभए पार्टी फुटको घोषणा मानिने उनको चेतावनी छ । शनिबार नेता नेपालसँग भएको टेलिफोन सम्वादका क्रममा पनि उनले हस्ताक्षर फिर्ता लिन जोड दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस