काठमाडौं  - राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद राजेन्द्र महतोले वैवाहिक अंगीकृतका लागि ७ वर्षको प्रावधान संविधानको मर्म विपरीत भएको बताएका छन् ।

संसदको राज्य व्यवस्था समितिको आइतबार बसेको बैठकमा महतोले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका हुन् ।

‘सरकार किन उल्टो बाटोमा हिँड्न खोजेको हो बुझिएन । यसअघि यस्तो प्रावधान कहिल्यै पनि आएन । यो व्यवस्था संविधानको मूल मर्मविपरीत छ,’ उनले भने, ‘जनताको भावनामा ठेस पुग्ने कानुन बनाएर के सन्देश दिन खोजिएको हो ? हामीले जनस्तरको सम्बन्ध टुटाउने काम गर्न हुँदैन ।’यो व्यवस्थाले महिलाको स्वाभिमानमाथि आक्रमण गरेको पनि उनले आरोप लगाए ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबार बसेको सचिवालय बैठकले नेपाली पुरूष नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई विदेशको नागरिकता त्याग गरेको प्रमाण पेश गरेको सात वर्षपछि नेपाली नागरिकता दिने निर्णय गरेको थियो । उक्त निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संवैधानिक, सांस्कृतिक, राजनीतिक मान्यताविपरीत हुने भन्दै विरोध जनाएको छ ।