एजेन्सी - अमेरिकी राष्ट्रपति बन्ने निश्चित भएपछि विश्वका नेताहरूले डोनल्ड ट्रम्पलाई बधाई दिन थालेका छन् । मत परिणामको प्रक्षेपणका आधारमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प पुनः राष्ट्रपति निर्वाचित हुने देखिएको छ । त्यसलाई उनले ‘ऐतिहासिक चुनावी जित’ भनेका छन् ।

यूकेका प्रधानमन्त्री किअर स्टार्मरले डोनल्ड ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘आगामी वर्षहरूमा म तपाईँसँग काम गर्न तयार रहेको छु ।’ स्टार्मरले सबैभन्दा नजिकको साझेदारका रूपमा स्वतन्त्रता र लोकतन्त्रका साझा मूल्य रक्षाका लागि ट्रम्पसँग काँधमा काँध मिलाएर खडा हुने विश्वास व्यक्त गरेका छन् ।

उनले आगामी वर्षहरूमा सुरक्षा, नवप्रवर्तन, प्रविधिलगायतको विकास र सुरक्षाका विषयमा यूके र अमेरिकाको विशेष सम्बन्ध थप विस्तार हुने ठानेको जनाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले पनि ट्रम्पलाई बधाई दिएका छन् ।

उनले भनेका छन्, तपाईँको ऐतिहासिक पुनरागमनका लागि बधाई ! ह्वाइट हाउसमा तपाईँको फिर्तीले अमेरिकाका लागि नयाँ सुरुवात र इजरेल तथा अमेरिकाबीचको महान् साझेदारीको शक्तिशाली पुनः प्रतिबद्धतालाई दर्शाउँछ ।’

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले आफूले अमेरिका–युक्रेन साझेदारीको दरिलो युगको पर्खाइमा रहेको बताउँदै रुसविरुद्धको युद्धमा लगातारको अमेरिकी सहयोगका लागि आशावादी रहेको जनाएका छन् ।

फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोँले युरोपको हितको रक्षा गर्दै ट्रम्पसँग सम्मान र महत्वाकांक्षाका साथ काम गर्न तयार रहेको बताएका छन् । हङ्गेरीका दक्षिणपन्थी राष्ट्रपति भिक्टर ओर्बानले विश्वका लागि अति आवश्यक विजय भनेका छन् ।

कुल लोकप्रिय मतमा पनि ट्रम्प नै अगाडि

ताजा विवरणअनुसार डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल कलेज मत मात्र नभई कुल मत वा कुल लोकप्रिय मतमा पनि जित्ने प्रक्षेपण गरिएको छ ।

सन् २०१६ मा उनले पहिलोपल्ट राष्ट्रपति निर्वाचन जित्दा लोकप्रिय मतमा भने हिलरी क्लिन्टन अगाडि थिइन् । पछिल्लो आँकडामा ट्रम्पले ६ करोड ९० लाखभन्दा धेरै मत पाएका छन् भने कमला ह्यारिसले ६ करोड ३७ लाखभन्दा धेरै मत पाएकी छन् । मतगणना अझै जारी छ ।

पछिल्लो प्रक्षेपणमा ट्रम्पले २६६ इलेक्टोरल कलेज मत जित्ने देखिएका छन् भने कमला ह्यारिसले २१९ जित्ने देखिएका छन् । कतिपय राज्यको मतपरिणामका प्रक्षेपण अझै भइसकेका छैन ।

ह्वाइट हाउसमा फर्किएपछि उनले इतिहासमै सबभन्दा धेरै आप्रवासीलाई देशनिकाला गर्ने, वैदेशिक व्यापारमा थप शुल्कहरू लगाउने अनि युक्रेन र मध्यपूर्वका युद्ध अन्त्य गर्ने वाचा गरेका छन् ।

– बीबीसी