काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शोकको समयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा ओलीले भोटेकोशी बाढीबाट अकल्पनीय जनधनको क्षति भएको बताउँदै यस्तो समयमा कसैले पनि राजनीति गर्न नहुने बताएका हुन्। उनले विपद्को यो घडीमा सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्नेमा जोड दिए। 'शोक र पीडामा कसैले पनि राजनीति गर्नुहुँदैन, सबैले उदारतापूर्वक सहयोगका हात अघि बढाउनुपर्छ,' ओलीले भने।
नागरिकको उद्धार, राहत र पुनर्स्थापना सरकारको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै उनले संघ, प्रदेश र स्थानीय तहसँगै विभिन्न संघसंस्था तथा परोपकारी व्यक्तिहरू मिलेर विपद्को सामना गर्नुपर्ने बताए। तर विपद्को समयमा सरकारले राज्यको सामर्थ्य नै कब्जा गरेर बसेको आरोप ओलीले लगाए।
उनले भने- 'सरकारले राज्यको सामर्थ्य कब्जा गर्यो। अगम्य, अप्राप्य र अदृश्यजस्तो भयो । प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्दथ्यो।' ओलीले राहत तथा उद्धारमा श्रेय लिने होड नगर्ने प्रतिबद्धता दलहरूले गरिसकेको भए पनि कतिपय निजी संघसंस्थालाई खोजी तथा उद्धारमा समेत सहभागी हुन नदिइएको दाबी गरे। उनले बागमती प्रदेश सरकारले आफ्नै पहलमा उद्धार, राहत तथा पुनर्निर्माणका काम अघि बढाएको भन्दै धन्यवादसमेत दिए।

.gif)


