काठमाडौं - मंगल चौथी। चतुर्थी तिथि र मंगलबारको संयोगमा सनातन धर्मावलम्बी मंगल चौथी पर्व मनाउँछन्। यो दिन विशेषगरी भगवान् गणेशको आराधना गर्ने परम्परा छ।

चौथीकै दिन गणेशजीको जन्म भएको पुराणमा उल्लेख छ। यस्तै मंगलबारका ‘स्वामी’ पनि गणेश नै मानिएका छन्। त्यसैले पनि तिथि र बारको संयोग भएको यो दिन उनको आराधनाका लागि उपयुक्त मानिन्छ।

रक्तचन्दन, सिन्दुर, फूल, अक्षता, दुवो, जनै, फल-नैवेद्य आादि अर्पण गरेर उनको पूजा गरिन्छ। यो दिन विशेषगरी २१ दुवो र २१ लड्डु चढाएर भगवान् गणेशको पूजा गरिन्छ।  ‘ॐ गणपतये नमः’ यो वचन प्रयोग गरी पूजासामग्री चढाउने विधि उल्लेख छ।

शिव र पार्वतीका पुत्र गणेश बिघ्नहर्ता र सबै कार्यमा सिद्धि प्रदान गर्ने देवता हुन्। विद्याबुद्धि र सन्तानप्राप्तिको कामना गर्दै उनको आराधना गरिन्छ।