काठमाडौं - प्रतिनिधिसभाकाे बैठकमा नेपालको कालापानी–लिपुलेक र लिम्पीयाधुरालाई समेटेर बनाइएको नयाँ नक्साको संविधान संशोधन विधेयक पारित भोली हुने भएको छ ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले संशोधन हाल्ने समय सकिएकोले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार गरिएको जानकारी दिए । भोली प्रतिनिधि सभाको बैठक दिउँसो बजेका लागि बोलाइएको छ।

नेपालको वास्तविक भू–भाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याइएको हो । सैद्धान्तिक छलफलमा ८४ सांसदले धारणा राखेका थिए । त्यसपछि सरकारले ल्याएको संशोधनमाथि सांसदहरूलाई संशोधन हाल्न ७२ घण्टाको समय दिइएको थियो ।

समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छन् । गिरीलाई समाजवादी पार्टीका प्रमुख सचेतकले संशोधन फिर्ता लिन निर्देशन दिएका छन् ।

तर, उनले आफ्नो संशोधन फिर्ता लिएकी छैनन् । संशोधन दर्ता गराउने समय आज राति ८ः३० बजेसम्म रहेको छ ।