काठमाडौं, पोखरा - गण्डकी प्रदेशकी राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले सदनको कारबाही रोक्न माग गरेकी छन् । आफ्नो पार्टीका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै उनले प्रदेशसभाको बैठक रोक्न माग गरेकी हुन् ।

संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई निवेदन समेत लेखेकी छन् । ‘मुख्यमन्त्रीज्यूको विरोधमा राखिएको अविश्वासको प्रस्तावमा राष्ट्रिय जनमोर्चाले समर्थन जनाइरहेको सन्दर्भमा सदनमा मतदानको परिस्थिति बनेको दिन हाम्रो पार्टीको प्रदेश सभा सदस्य श्री खिम विक्रम शाहीको अवस्था अज्ञात रहेकोले सदनमा उपस्थित हुन नसक्नु भएकोले उहाँको अवस्था सार्वजनिक गर्न, निजको जीवन रक्षा गर्न र निज सार्वजनिक नभएसम्म सदनको कारबाही नचलाइयोस् भन्ने विनम्र अनुरोध गर्दछु ।’ निवेदनमा भनिएको छ । 

आजै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुने सम्भावना छ । जनमोर्चा गण्डकीमा दुवै पक्षको लागि निर्णायक हो । यदि आजै मतदान भए र शाही  उपस्थित नभए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार जोगिने छ भने विश्वासको मत फेल हुनेछ ।  ६० सदस्यीय प्रदेश सभामा अविश्वासको प्रस्ताव पारित हुन ३१ मत चाहिन्छ ।