काठमाडौं - राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्ताव गर्नुभएको विधेयकमाथि सैद्धान्तिक छलफल सकिएपछि बहुमतले स्वीकृत गरेको हो।

सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले मुलुकको सन्तुलित विकासको लागि कुनै खास क्षेत्रलाई मात्रै चलायमान गराएर नहुने बताए।

सबै क्षेत्रलाई एकसाथ अगाडि बढाउँदै लैजानुपर्ने बताएका उनले कोरोनाको रोकथाम, नियन्त्रण र उपचार सरकारको पहिलो प्राथमिकता भएको र आर्थिक क्रियाकलापलाई दोस्रो प्राथमिकतामा राखेर बजेट ल्याइएको अर्थमन्त्री खतिवडाले स्पष्ट पारेका छन्।