सामूहिक बलात्कार प्रकरण : करातेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद, जनही ३ लाख जरिवाना
काठमाडौं-सामूहिक बलात्कार अभियोगमा दोषी ठहर भएका दुईजना कराते प्रशिक्षकलाई जिल्ला अदालत मोरङले आठ–आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
विराटनगरस्थित एउटा नर्सिङ कलेजकी १९ वर्षीया छात्रामाथि सामूहिक बलात्कार अभियोगमा भदौदेखि पुर्पक्षमा रहेका मोरङका दुवै जनालाई बुधबार अदालतले सजाय निर्धारण गरेको हो ।
न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदीलाई ८ वर्ष कैद र जनही ३-३ लाख रुपैयाँ जरिवाना तोक्ने फैसला गरेको हो।
जबरजस्ती करणी मुद्दामा ७ वर्ष र सामूहिक बलात्कारमा थप १ वर्ष गरी दुवै जनालाई ८ वर्ष कैद सजाय निर्धारण गरिएको मोरङ अदालतले जनाएको छ । न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले यसअघि दुवै जनालाई दोषी ठहर गरेको थियो ।
विराटनगर–४ का ५० वर्षीय राउत नेकपा एमाले निकट नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव थिए भने ५० वर्षीय सुवेदी विराट हेल्थ कलेजका अनुशासन इन्चार्ज हुन् ।
पीडितमाथि गएको जेठ महिनामा विराटनगरको मुनाल पथस्थित विराट होटेलमा सुवेदी र राउतले सामूहिक करणी गरेको आरोप छ ।
फेसबुक पेज Like गर्नुहोस