कालिमाटीबाट आईपीएलमा सट्टेबाजी गरेको आरोपमा ७ जना पक्राउ
काठमाडौं - प्रहरीले काठमाडौँको कालीमाटीबाट इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । आईपीएल क्रिकेटमा सट्टेबाजी भइरहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत घर भएका कुलदीप शारण, सन्जिव शारण, ३८ वर्षीय अजय गौतम, ४६ वर्षीय नविन जैन, प्रदिप घिमिरे, काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने ५१ वर्षीय उत्तम सापकोटा र काठमाडौँ महानगर–१३ सोल्टिमोड वस्ने ५५ वर्षीय अनिलकुमार बमसल रहेका छन् । कुलदीपलाई आइतबार पक्राउ गरिएको र उसकै बयानका आधारमा अन्य ६ जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कुलदीप कमलपोखरीस्थित होटल कोनार्क इनको कोठा नम्बर १०५ मा बस्दै आएको प्रहरीको भनाई छ । प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरका अनुसार उनीहरुको साथबाट २ वटा सवारी साधन र नेपाली १ लाख ८५ हजार १२० रुपैयाँ बरामद भएको छ । पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस