काठमाडौं - अभिनेत्री मनीषा कोइरालाले क्यान्सर निको हुन उपचारसँगै आत्मबल पनि उत्तिकै आवश्यक रहेको बताएकी छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले क्यान्सर लाग्नबाट बच्न नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताइन् ।

क्यान्सर रोग जितेकी अभिनेत्री कोइरालाले सन्तुुलित खानपिन र नियमित व्यायाम गरे क्यान्सर लाग्नबाट बच्न सकिने अनुभवसमेत सुनाइन् ।

नेपाल क्यान्सर सर्वाइभ सोसाइटीका अध्यक्ष प्रमिता खनालले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धिका लागि युवाहरु सचेत हुनुपर्ने बताइन् ।

कार्यक्रममा डा. सन्ध्या चापागाइँ, डा.रश्मी पुनलगायतले क्यान्सर लाग्दैमा आत्तिनुपर्ने अवस्था अब नरहेको र नेपालमा नै यसको उपचार सम्भव रहेको बताए । सचेतना कार्यक्रममा युवा–युवतीहरुलाई शारीरिक व्यायाम सिकाइएको थियो ।