रूपन्देही - लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ गएराति पक्राउ परेका छन् । 

मध्यराति घरमा सुतिरहेको अवस्थामा प्रहरीले लुम्बिनी बिकास कोषको नवनियुक्त उपाध्यक्ष आनी छोइङको बिरोध गरेको भन्दै पक्राउ गरेर लगेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिएका छन् ।

आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्व आन्दोलन गरिरहेको छ ।

यता, प्रहरीले भने आनी छोइङ डोल्माको नियुक्तिको विरोधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको तस्बिर जलाएको आरोपमा खाँलाई पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति साढे १० बजे मन्त्रीको तस्बिरमा आगो लगाएर विरोध गर्ने क्रममा महाअभियानका अध्यक्ष लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का बासिन्दा अकरम खाँ र लुम्बिनी सांस्कृतिक नगरपालिका–९, पिपराका वाजिउद्दिन मुसलमानलाई नियन्त्रणमा लिइएको थियो ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक होमनाथ रेग्मीको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीले मन्त्रीको फोटो जलाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए ।


प्रहरीका अनुसार सोमबार साँझ ५ बजे पनि महाअभियानले लुम्बिनीको पर्सा चोकमा आनीको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन गरेको थियो । उक्त विरोध कार्यक्रममा पनि मन्त्री पौडेलको तस्बिर जलाइएको जानकारीका आधारमा संलग्न व्यक्तिको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।


मध्यरातमा संयोजकमाथि गरिएको धरपकडप्रति महाअभियानले सरकारको कदमको कडा शब्दमा भ्रत्सना गर्दै निःशर्त रिहाइको माग गरेको छ।