काठमाडौं - सिंहदरबारमा बसेको नेकपा (एमाले)को कार्यदलको बैठक सकिएको छ । 

विवाद समाधान गर्न गठित कार्यदलको छलफल निष्कर्षउन्मुख रहेको र भोलिसम्ममा विवाद टुंगो लगाउने बैठकपछि एमाले प्रवक्ता एवं कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए । ‘कार्यदलका तर्फबाट नेताहरूसँग परामर्श गर्ने र उहाँहरूका भावना बुझ्ने कुरा पनि भइरहेको छ । छलफल सकारात्मक र निष्कर्षउन्मुख छ,’ ज्ञवालीले भने, ‘हामी भोलि टुंग्याउने गरी लाग्छौँ ।'

सोमबारदेखि कार्यदलको बैठक बसिरहेको छ । कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। यस्तै, वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन्।