काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले एक वर्षसम्म बैठक भत्ता नलिने घोषणा गरेका छन् । राष्ट्रियसभा सदस्य समेत रहेका श्रेष्ठले कोरोना भाइरसको कारण देशको सबै क्षेत्र प्रभावित भएको र यसले आगामी आर्थिक वर्ष आर्थिक क्षेत्रमा ठूलो चुनौती सामना गर्नुपर्ने बताएका छन् ।

सोमबार साँझ ट्वीट गर्दै श्रेष्ठले भनेका छन्, 'कोभिड–१९बाट हाम्रो देश समेत सबै क्षेत्रमा प्रभावित भएको छ । आगामी वर्ष आर्थिक क्षेत्रमा ठुलो चुनौतिको सामना गर्नुपर्ने निश्चित छ । तर, यो स्वतन्त्र एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको अवसर पनि बन्न सक्छ । त्यसको लागि दृढ संकल्पको खांचो छ । पेट कसेर भएपनि देश बनाई छाड्छौं । दुःख गरौं, फेरौं । यसका लागि सार्वजनिक खर्चमा कटौती, मितव्ययीता, चुहावट र भ्रष्टाचार नियन्त्रण, प्राथमिकताको निर्धारण र पुँजीगत खर्च कार्यान्वयन क्षमतामा बृद्धि जरुरी हुन्छ । यस सन्दर्भमा म १ वर्षको राष्टिय सभा र समितिको बैठक भत्ता नलिने घोषणा गर्दछु । सँघ र प्रदेशका अन्य मित्रहरुलाई पनि सोच्न अनुरोध छ ।ं त्यसैगरी म फेरि जोड दिएर भन्न चाहान्छु, सांसद बिकास कोष कम्तिमा आगामी वर्षका लागि खारेज गरेर त्यो रकम रोजगारी केन्दृत राष्ट्रिय योजनामा लगानी गरौं ।समग्र राष्ट्रिय हित र आवश्यकताको कोणबाट सोचौं।’