काठमाडौं - शतवीज छरेर सोमबार बालाचतुर्दशी पर्व मनाईँदै छ ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुका आइतबार दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतवीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ । पितृको सम्झनामा शतवीज छरी बालाचतुर्दशी पर्व मनाउने धार्मिक विधि छ।

प्रायः धान, जौ, तिल, चना, मकै, कागुनोलाई शतवीजको रुपमा छर्ने गरिन्छ ।प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।  पशुपतिमा समेत विभिन्न स्थानबाट भक्तजन आएका छन् । सोमबार बिहानै पशुपतिमा देशभरबाट आएका भक्तजनले शतवीज छरेका छन् ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतवीज छर्ने धार्मिक परम्परा छ।