काठमाडौं - महानगरीय ट्राफिक महाशाखाका आइतबारदेखि समय तालिकका आधारमा गाडी सञ्चालन गर्न पाइने नियम बनाइएको हो।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायबीच भएको बैठकले गरेको प्रस्तावलाई गृह मन्त्रालयले स्वीकृति दिएपछि समय तालिकाका आधारमा सवारीसाधन सञ्चालन गर्न लागिएको प्रमुख भीमप्रसाद ढकालले बताएका छन्।

ट्राफिक महाशाखाका अनुसार निर्माण सामग्री बोकेका ठूला टिपर र ट्रक साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र उपत्यका छिर्न पाउनेछन् भने निजामती कर्मचारी, बैंक तथा वित्तीय सेवाका कर्मचारी बिहान ९ बजेदेखि साढे ९ बजेभित्र कार्यालय पुगिसक्नुपर्नेछ।

बैंकका कर्मचारी दिउँसो साढे ३ देखि ५ बजेसम्म घर फर्किसक्नुपर्नेछ भने अन्य कर्मचारी साँझ ५ देखि ६ बजेसम्म फर्किनुपर्ने नियम तोकिएको छ।

तरकारी, खाद्य सामग्री, फलफूललगायत वस्तु बोकेका सवारीसाधन बिहान १० बजेभित्र मात्र सञ्चालन हुन पाउने महाशाखाले जनाएको छ।

यी गाडी सञ्चालनका लागि आफ्नो कार्यालयबाट जारी गरिएको पत्र बोक्नुपर्ने छ। तर राति चल्ने निर्माण सामग्री बोकेका सवारीसाधनका लागि भने यस्तो पत्र आवश्यक नपर्ने ट्राफिक महाशाखा प्रमुख ढकालले जानकारी दिएका छन्।