काठमाडौं - बिहीबारबाट सुरु भएको अविरल वर्षाका कारण नेपालको मध्य तथा पूर्वी भेगका ठूला, मझौला तथा स्थानीय नदीको सतहले सतर्कताको विन्दु पार गरेका छन् । भोजपुर–धरान, बीपी राजमार्ग, बुटवल–पाल्पा सडक, लमजुङ–मनाङ सडकखण्ड बन्द भएको गृह मन्त्रालयले जनाएको छ । 

लगातारको वर्षाले माटो गलाएर पहाडी भेगमा पहिरोको जोखिम पनि बढाएको छ । देशका विभिन्न स्थानमा बाढी आउँदा जनधनको क्षति बढ्दै छ । मध्य र पूर्वी क्षेत्रका ठूला नदीको जलसतह बढेर मानव बस्तीमा पस्न थालेपछि मौसम पूर्वानुमान महाशाखाले पूरै शक्ति बाढीको व्यवस्थापनमा लगाउन शुक्रबार बिहानै आह्वान गरेको छ । 

मझौला नदीहरू पनि उर्लिएका छन् । कमला, कन्काई र तिनाउमा बाढीको सतहले खतराको सङ्केत नाघिसकेको छ । उपबेसिनअन्तर्गत रहेको सप्तकोसीका सातवटा तथा बाग्मती, विष्णुमती, महनोहरा, नख्खु, गण्डकीको त्रिशूली, मस्र्याङ्दी, सेती, मादी, कालीगण्डकीमा बाढीको सतह सतर्कता तह माथि उक्लेकाले विपद्को ठूलै सङ्कट आउन सक्ने अनुमान महाशाखाले गर्दै सतर्कताका लागि आग्रह गरेको छ । 

मनसुनी न्यूनचापीय रेखाको बढ्दो घनत्वले नेपालको मध्य र पूर्वमा अधिक वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । भारी वर्षाको अनुमान महाशाखाले गरे पनि त्योभन्दा अत्यधिक वर्षा भइरहेको मौसमविद्हरूले जानकारी दिएका छन् । यस क्षेत्रमा अझै तीन दिन निरन्तर वर्षा जारी रहने छ । 

नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले बाढी, पहिरोलगायत प्राकृतिक विपत्तिमा परेकाको उद्धार गर्न जनशक्ति र साधनस्रोत परिचालन गरेकोे छ । पहिरो र बाढीमा परेकाको उद्धार गर्न सेनाको टोली खटिएको छ । 

गोरखापत्रबाट