कोरोनाले अमेरिकी र जापानीसहित ७२२ जनाको ज्यान लियो
काठमाडौं - चीनबाट सुरु भई विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ।
मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। चिनियाँ अधिकारीहरूले ६० वर्षीय एक अमेरिकी नागरिकको वुहानमा बिहीबार मृत्यु भएको जानकारी दिए पनि अन्य विवरण भने दिएका छैनन्।
त्यसैगरी, अर्का एकजना ६० वर्षीय नै जापानीको पनि कोरोना भाइरसकै कारण वुहानमै मृत्यु भएको छ। जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको समाचारमा जनाइएको छ। सरकारी अधिकारीहरूका अनुसार थप झण्डै ३५ सय जनामा यस भाइरसको संक्रमण देखिएको छ।
कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ। उनीहरू दुवै चिनियाँ नागरिक नै हुन्। डिसेम्बरको अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखा परेको नयाँ कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको हो।
विश्वका झण्डै ३० देशमा यो भाइरसबाट ग्रसित व्यक्ति फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना भाइरसबाट अतिप्रभावित क्षेत्र मानिने उहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ। देशका अति क्षमतावान मानिएका आइसियु स्टाफसहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
उनीहरूमध्ये तीन हजारजना सघन उपचार कक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले शुक्रबार बताए।
अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरूलाई शारीरिक तथा मानसिक थकान हुने उनको भनाइ छ।
फेसबुक पेज Like गर्नुहोस