काठमाडौं - भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ। ७० सिटका लागि भएको निर्वाचनमा आपले ६२ सिट जितेको हो। यो ८८.५७ प्रतिशत हो। भाजपा ८ सिटमा सीमित भएको छ। चुनावमा दिल्लीमा १५ वर्ष लगातार शासन गरेको भारतीय कंग्रेस शून्य देखिएको छ।

केजरीवालले मत परिणामले भारतमा नयाँ राजनीतिलाई जन्म दिएको बताए। उनले भने, ‘दिल्लीका जनताले निर्वाचनमा जसले स्कुल बनाउँछ, क्लिनिक बनाउँछ, २४ घण्टा बिजुली सस्तोमा दिन्छ, त्यसलाई भोट दिने सन्देश दिएका छन्।’

केजरीवालले कामका आधारमा राजनीति गरेको उल्लेख गर्दै आगामी पाँच वर्ष दिल्लीका दुई करोड जनतासँग मिलेर काम गर्ने शक्ति हनुमानजीले प्रदान गरून् भन्दै मतदातालाई धन्यवाद दिएका छन्। उनले भने, ‘दिल्लीका जनताले तेस्रोपटक पनि आफ्ना छोरालाई जिताएका छन्। यो जित ती सम्पूर्ण परिवारको जित हो, जसले मलाई आफ्नो छोरा मानेर जबरदस्त समर्थन गर्नुभयो।’

अन्नपूर्णबाट