काठमाडौं - चर्चित गीतकार रत्‍न शमशेर थापाको निधन भएको छ। उनको उपचारका क्रममा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा निधन भएको हो।

हितैषी, अर्थविद तथा गीतकार विश्‍वम्भर प्याकुरेलले नेपाली सुगम संगीतका चर्चित रचनाकार थापाको बिहीबार दिउँसो निधन भएको जानकारी दिए। थापाले घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै (सीमाना फिल्म)  जस्ता कालजयी गीत लेखेका छन्। 

कुनै बेला उनले लेखेका गीत स्वर स्रमाट नारायणगोपालदेखि प्रेमध्वज प्रधानसम्मको स्वरमा गुञ्जिने गर्थे। उनको जन्म सन् १९३९ मा भएको थियो। उनका प्रमुख कृतिमा चक्लाभरिको घाम, ताराका काँचा रङ्ग (कवितासङ्ग्रह), ओभानो सिउँदो, रुझेका परेला (गीतसङ्ग्रह) सहित रहेका छन्। 

उनले देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान (गीतमा), साधना सम्मान, लाइफटाइम एचिभमेन्ट अवार्ड (हिट्स एफएम), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्‍नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार आदि पाएका थिए।