म्युजिक भिडिओमा राष्ट्रिय झण्डा जलाउने गायकसहित नौ जना पक्राउ
काठमाडौं - नेपाल प्रहरीले म्युजिक भिडिओमा झण्डा जलाउने समूहका नौ जनालाई पक्राउ गरेको छ।
बुधबारसम्म प्रहरीको विभिन्न युनिटबाट खटिएको टोलीले काठमाडौंबाट नौ जनालाई पक्राउ गरेको हो। सोमबार 'मङगोल हप' नामक युट्युब च्यानलबाट सार्वजनिक भएको 'देशद्रोही' नामको गीतमा राष्ट्रिय झण्डा जलाएको थियो।
त्यसको चौतर्फी विवाद भएपछि नेपाल प्रहरीले आफ्ना विभिन्न युनिटहरू खटाइ यस घटनामा संलग्नहरूलाई पक्राउ गरेको हो। थप चार जनालाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो।
नेपाल प्रहरीले जारी गरेको विज्ञप्तिमा अहिलेसम्म नौ जना पक्राउ परेको उल्लेख छ। उक्त घटनामा संलग्न सबैको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा गायक तथा झण्डा जलाउने ग्याल्जोङ दोर्जे तामाङ पनि छन्। उनीहरूविरूद्ध राज्य विरूद्धको अपराध, साइबर अपराध र राष्ट्रिय झण्डा जलाएको लगायतमा अनुसन्धान आकर्षित हुने महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए।
फेसबुक पेज Like गर्नुहोस