काठमाडौं - संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाई समितिमा प्रतिनिधि सभा सदस्यहरुको नाम हेरफेर गर्नुहुने कार्यसूची रहेको छ । साथै उहाँले प्रतिनिधि सभाअन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्नुहुने, स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण, कृषि तथा पशुपंक्षी विकास र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने कार्यसूची रहेको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ ।

प्रतिनिधि सभा सदस्य प्रतिमा गौतमले डेंगीको प्रकोप तिब्र रुपमा देशभर फैलिइ जनस्वास्थ्य संकट उत्पन्न हुन गई अस्पतालमा गम्भीर अवस्थाका बिरामीहरु भर्ना हुने संख्यामा वृद्धि, समाजमा डर र त्रासको माहौल उत्पन्न भएकोले डेंगीको प्रभावकारी नियन्त्रण एवं भविष्यमा सिर्जना हुने गम्भीर र दीर्घकालीन असर न्युनिकरण तथा रोकथामका लागि सरकारलाई निर्देशन दिन अपरिहार्य भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । उक्त प्रश्तावका समर्थक कुसुमदेवी थापा, सपना राजभण्डारी, सीता मिजार र लिलादेवी बोखिम लिम्बूले समर्थन गर्नुहुने कार्यसूची रहेको छ ।