काठमाडौं  - त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

 उनीहरुले पदीय मर्यादा अनुरुप आफूले पूरा गर्नुपर्ने दायित्व पुरा नगरी आयोगले खुलाएको विज्ञापन अनुसार लिखित परीक्षामा नम्बर थपेर थपेर नतिजा फेरबदल गराएको देखिन आएको अख्तियारले जनाएको छ । 

उनीहरुले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध गरेको भन्दै दफा १३ बमोजिम सजायँ गर्न माग दाबी गरिएको छ भने  शर्मा, पोखरेल, कोइराला र ढकालद्वयलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायको समेत मागदावी गरिएको छ ।