काठमाडौं - मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भू–भागमा र पश्चिमी नेपालको पहाडी भू–भाग नजिक अवस्थित रहेकाले आइतवारसम्म देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले शनिवार एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतवारसम्म मनसुन अति सक्रिय रहने जनाएको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर मनसुनी वर्षा जारी रही देशका पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भू–भागमा केही स्थानमा र पश्चिमी भू–भागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भू–भागका केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

आइतवार देशभर पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा हुने र खासगरी पूर्व तथा मध्य क्षेत्रका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।