बुटवलका १२ स्थान निषेधित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी जम्मा हुन नपाइने
काठमाडौं,बुटवल - प्रदेश ५ को राजधानीको विषयमा विरोध प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले बुटवलका १२ स्थानलाई चार दिनसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन प्रशासनले रोक लगाएको छ ।
प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रशासनले निषेधाज्ञा घोषणा गरेको हो ।
प्रशासनले असोज १८ गते आइतबार बिहानदेखि २१ गतेसम्म विहान ६ बजेदेखि साँझ ६ बजेसम्म ५ जनाभन्दा बढीको समूहमा हिड्डुल गर्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।
यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।
फेसबुक पेज Like गर्नुहोस