काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् ।

सुनसरीमा सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिँदा नागरिकको ज्यान गएको र समाजमा त्रास फैलिएको भन्दै उनले यस्तो अवस्था मानवताका लागि स्वीकार्य नहुने टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पीडित परिवारलाई सरकारले चाँडोभन्दा चाँडो न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने उनकाे भनाइ छ ।

`एउटा नागरिकका रूपमा म सुनसरीको घटनाबाट अत्यन्तै दुखी छु । दोषीलाई कानुनबमोजिम कारबाही गरिनेछ र पीडितलाई न्याय सुनिश्चित गरिनेछ,´ उनले भनेका छन्  ।

प्रधानमन्त्री शाहले प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । सुरक्षा निकायको उपस्थितिले मात्र स्थिति नियन्त्रणमा लिन पर्याप्त नभएको स्वीकार गर्दै उनले भनेका छन्, `सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्नु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसको छानबिन सुरु भइसकेको छ र दोषी पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।´

समाजमा व्याप्त उत्तेजना, आक्रोश र बदलाको भावनालाई त्याग्न आग्रह गर्दै प्रधानमन्त्रीले अहिलेको प्राथमिकता शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।