ड्रग्सका अम्मली थिए जस्टिन, कारण यस्तोे
काठमाडौं - पपस्टार जस्टिन बिबरले १९ वर्षको उमेरदेखि ड्रग्स लिन थालेको खुलासा गरेका छन् । बाल्यकालदेखि नै स्टार बनेका बिबरले आफूलाई सम्हाल्न नसक्दा ड्रग्सको अम्मल लागेको र आफूसँग सम्बन्धमा रहेका महिलाको भावना बुझ्न नसकेको स्विकारेका हुन् ।
आफ्नो इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘जब तपाईं आफ्नो जीवनबाट विगत, जागिर, जिम्मेवारी, भावना र सम्बन्धबाट आजित हुनुहुन्छ, बिहानै उठ्न निकै कठिन हुन्छ । एकपछि अर्को दुःखको सामना गर्न परिरहेको अवस्थामा तपाईं आफ्नो दिनलाई डरको लेन्सबाट हेर्न सुरु गर्नुहुन्छ ।’
उनले लामो स्टाटसमा विगतमा आत्मघाती विचारसँग लड्नुपरेको बताएका छन् । ‘मैले १९ वर्षको उमेरमा ड्रग्स लिन सुरु गरेको थिएँ र आफ्नो सम्बन्धको दुरुपयोग पनि गरेँ । म ती सबैबाट टाढा रहेँ, जसले मलाई प्रेम गर्थे ।’ उनले आफूले कहिल्यै पनि जिम्मेवार हुन नसिकेको बताएका छन् । साथै, आफूले गरेका गल्ती ठीक गर्न आफूलाई वर्षौं लागेको पनि बताएका छन् ।
विवाहपछि भने निकै सुध्रिएको उनको दाबी छ । ‘यो वर्ष मेरो जीवनकै उत्कृष्ट सिजन हो । सबै कुराले मलाई राम्रो मान्छे बनाउँदै लगेजस्तो छ,’ उनले लेखेका छन् ।
जस्टिनले अमेरिकी मोडल हैली वाल्डविनसँग विवाह गरेका हुन् । उनीहरूले जुलाई २०१८ मा इंगेजमेन्ट गरेका थिए भने त्यही वर्ष सेप्टेम्बरमा विवाह गरे । यी दुईले गोप्य रूपमा न्युयोर्क सिटी अदालतमा कानुनी विवाह गरेका थिए ।
यद्यपि, यो जोडीले भव्य पार्टी गरेर यसै महिना विवाह सेलेब्रेट गर्ने योजना बनाएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्टारहरूको जमघट हुने यस पार्टीको विस्तृत विषय सकेसम्म गोप्य नै राख्ने कोसिस गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस